लक्ष्मीप्रसाद पौडेल
पानी प्यास निकै लागेर आएको थियो । हल्का रुघाखोकीले भेटेकोले पसलबाट सोझै मिनरल वाटर किनेर खानु त्यति श्रेयस्कर लागेन । बाटो किनारमा उभिएको एउटा चिया पसलमा पुगें । अधबैँसे कद की साहुनी उमेरमा म भन्दा कमै थिइन् । पसलमा ग्राहक थिएनन् । दुई महिला घरायसी गफ गरिरहेका थिए । साहुनी भन्नुभन्दा बहिनी भन्नु नै उचित लागेर सोधें, – “बहिनी एक गिलास तातो पानी पाउन सक्छु होला ? ”
-” तातो पानी त छैन !” उनको जवाफ थियो ।
मेरो घाँटी सुकेको थियो । मलाई जसरी नि पानी पिउनु थियो ।
– ” ए —, त्यसोभए एक कप चिया बनाईदिनु न !”
चिया भनेपछि उनी अलि चनाखो भईन् ।
– ” त्यो दिउरी सफा गरेर बनाई दिनु है ।” मैले अनुरोध बिसाएँ ।
उनले अघिदेखि चिया पकाइराखेको चियापत्ति एउटा कचौरामा खन्याएर दिउरी सफा गरिन् । दिउरीमा सफा पानी राखिन् ।
– ” मेरो चियामा चियापत्ति नराखिदिनु होला हैं ।”
मेरो भनाइ सँगै उनका आँखा म तिर ठडिए ।
– ” चियापत्ति नराखी चिया बन्छ ? ” उनको प्रश्नवाचक दृष्टिले मलाई खाउँला झैं गर्यो । पानी भकभक उम्लिसकेको थियो ।
– ” मेरो चिया तयार भयो । गिलासमा राखेर दिनु न साहुनी !” यसपटक चाहिँ मैले साहुनी शब्द नै प्रयोग गरें ।
-” कति बाठो मान्छे !” मैले सुन्ने गरी भनिन् ।
मलाई जीवनमा पहिलो पटक कसैले बाठो मान्छे भनेको थियो । मन गदगद भयो । मैले खोजेको तातो पानी मेरो हातमा थियो ।
म उनीहरूतिर ध्यान नदिए झैं गरी पानी पिइरहेको थिएँ । त्यहाँ पसलमा भएकी अर्की महिलाको भनाईले म खङ्ग्रङ्ङ भएँ । -” कस्तो लोग्नेमान्छेको जस्तो जुनी लिएर आईचु म त । मन खोलेर रुन पनि सक्तिनँ !”