लेखक:- कलावती उपाध्याय
कहिले?
बिहान कराउने भालेको आवाज सँगै
जुर्मुराउनुपर्ने
निद पुरा भयो भएन कसले माने राख्यो?
मानौँ दैलो पोत्न थोरै ढिलो भयो भने ,
दैलोले अस्विकार गर्छ
मेरो पोताइलाइ
आफ्ना पीडाहरु छोपिने गरि पोत्नुपर्ने दैलो को लागि,
आफुलाइ मन पर्ने खाना बनाउन र खान त
बाले कन्यादान सँगै सबै पराइकै हातमा सुम्पेका हुन
मेरा रहर मेरा इच्छा म सँग कहाँ मान्छन र अब
अरुकै इच्छा चाहानाका लागि,
घर आँगन पाठा बाख्रा बस्तुभाउले बरु
समयमै पाउँदाहुन
आफुले मागेका कुराहरु
यी पैतालाहरु कसरी कहाँनेर कति चल्छन
झिनो आसाका लागि,
दुधे बालकले छेउबाट हेर्दो र सोच्दो हो
म भन्दा पनि बढी ममता अरुलाइ दिनुपर्दो रहेछ
काखले खोज्छ
मनले रोज्छ
तर यो कस्तो परिस्थितिका लागि,
मेरो चित्त फलामको हो दुख्दैन
अरुलाइ घोच्छ कि
घोच्यो कि भन्ने डर अनि पिरका लागि,
खानेले जुन थालमा खायो त्यहि थालमा चुठ्यो
मेरो पेट भोको कि अघाएको कसले देख्यो
छरपष्ट फालिएका जुठा भाँडाका लागि,
मेरा शब्द उल्टा मात्रै गएछन
म माथी प्रहार भएका शब्दहरु खुबै अनुशासित रहेछन
जीवनका प्रेरणा
चोटिला बचनका लागि,
सहनुपर्छ छोरी
म सहेरै तिमीले छोरीको जन्म लिन पाएकि हौ
आमाले सानैमा सिकाएको संस्कारका लागि,
आजसम्म यिनै चिजका लागि बाँचिरहे
आफ्ना लागि,
आफ्ना खुसीका लागि
बाँच्ने कहिले?