लेखक: दीर्घराज उपाध्याय, धनगढी
आमाको मृत्युमा आँसुुसम्म बगाउन नपाएको
त्यो अभागी छोराका लागि
महाकालीको झोलुङ्गे पुलको भोटेताल्चा नखोल्ने
निर्दयी शासकको मैले भरोसा गरिरहन सकिनँ
र आमा,
मैले मध्यरातमा शासकहरूको
यो सहर छोडेको छु
म हिंड्दा हिंड्दै ढलिनँ भने
भोक प्यासले गलिनँ भने
आमा, म आउँदै छु ।
माथिको आदेशमा
गौंडा गौंडा कुरेर बसेका
प्रहरी दाइको मन पग्लिएपछि
गोडा चलाउन पाएको छु
खिइएर चप्पलले साथ छोडिसक्यो
अब हिंड्नलाई यी एक जोर पैताला बाँकी छन्
यी पैताला खिइएनन् भने
म एकदिन अवश्य पुग्ने छु
आमा, म आउँदै छु ।
न्याय नपाए गोरखा जानु भन्थे
त्यही गोरखामा भोकभोकै मर्नुपर्ने भएपछि
मैले न्यायको आस गरिरहन सकिनँ
र मैले गोरखा र उसको न्याय
मध्यरातमा त्यहीं छोडेर
साथीहरूसँगै
मेरो प्यारो सुदूरपश्चिमलाई गन्तव्य बनाएको छु
आमा, म आउँदै छु ।
सरकारले सबै कुरा स्टक छ भन्दै
फलाकिरहेको रेडियो सुनेर
फुटाउन मन लाग्छ
जिन्दगी भर नसकिने दुःख बाहेक
केही स्टक भएन
छन् त जिन्दगीभर नसकिने दुःखका चाङहरू
शासकका वरिपरि रहेका केही भारदारहरूले महसुस
गर्न पाएको
त्यो सुखी नेपाली समृद्ध नेपालको सपनाले
गिज्याउँछ, बिजोर चप्पलमा सुदूर बाटो हिंडेको
यो भुइँमान्छेलाई
यो बाटो र दुःख उस्तै छ
कहिले नसकिने
कहिले नटुङ्गिने
दुःखको पहाड
अझै अग्लो अग्लो
झन् अग्लो हुँदै गएको छ
आकाश छुने गरी
भोक त समुन्द्र झैं फैलिएको छ
आँखाले नदेखिने गरी
सरकारले न त भोक देख्यो
न त यी असङ्ख्य पीडाहरू
संवेदनाहीन यो सरकार
र, उसको सिंहदरबारलाई
मध्यरातमा यहीं छोडेर
आमा, म आउँदै छु ।
जहानलाई बुलाकी
आमालाई एकसरो धोती
र सन्तानलाई केही नाना
जोहो गर्न यसैगरी मध्यरातमा
त्यो प्यारो आँगन छोडेको थिएँ
त्यति बेला
केही थान सपनासँगै छोडेको थिएँ
त्यो प्यारो घर
यस पटक त साथमा केही छैनन्
त्यो सपना यो सहरले निलिदिएपछि
यो शरीरबाहेक केही बाँकी छैन, साथमा
त्रिशूलीसँगै बगेका छन्
सपनाहरू
खुसीहरू
आकाङ्क्षाहरू
र, सरकारप्रतिका भरोसाहरू
सिंहदरबार र त्यसभित्र बस्नेहरू
उस्तै उस्तै भएका छन्
जो बोल्दैनन्
बस ठिङ्ग उभिएर रमिता हेरिरहन्छन्
यी खिइएका पैताला
र कङ्क्रिट छिचोल्दा छिचोल्दा
उठेका फोका
र ती फोका फुट्दा
त्यससँगै बग्ने रगत
रगतले बनाएको बाटो
पछाडिको साथी त्यही रगत पछ्याएर
पछिपछि कैलाली पुग्दै छ
थाहा छैन सँगै सहर छोडेको साथी
जनकपुर पुग्यो कि पुगेन
बर्दिया हिँडेको साथीको
कुनै सन्देश छैन
आमा, म आउँदै छु ।
आमा, यो शहरमा बाँदर पनि भोकै भए
हामी पनि भोकै भयौं
बाँदर र हाम्रो जीवनको मूल्य
उस्तै उस्तै भयो
न प्यास कसैले सोध्यो
न भोक कसैले सुन्यो
सोलुबाट हिंडेर चार दिनमा
यो सहर पसें
अतिथि देवो भवः हराएको यो शहरमा
वास नमिलेपछि
आर्यघाटमा जलाउन राखिएका
ती शवहरूसँगै
रात छटपटीमै बित्यो
फर्केर फेरि पस्न नपरोस् यो शहरमा
ढुङ्गा फर्काएर आएको छु
आमा, म आउँदै छु ।
नागढुङ्गा परको नेपाल यिनले देखेका भए
यिनलाई दुख्थ्यो होला दार्चुलाको घाउ
अहिले दार्चुला नदुखेको यिनलाई
चुनावमा वर्षौंदेखि मिचिएको कालापानी
याद आउने छ बेस्सरी
हो, यिनलाई कालापानी दुख्ने छ चुनावमा
यिनको राष्ट्रवाद चुनावमा उर्लिने छ
साउनको महाकालीको भेलझैँ
ओम्नीको चास्नीमा डुबेका
यतिलाई सर्वस्व सुम्पेकाहरू
कात्रोमा पनि कमिसन खान खोज्नेहरूबाट
मैले यो ज्यानको रक्षा होला भन्ने ठानिनँ
हो, आमा त्यसैले मध्यरातमा मैले
यो बिरानो शहर छोडेको छु,
आमा, म आउँदै छु ।
सोफेस्टिकेटेड आलिसान महलमा
अत्तर छर्केर बसिरहने
शासकका नजरमा
उत्ताउलो भएछ,
आमाको मृत्युमा आँसुु बगाउनु
आमाको मृत्युमा
मुखाग्नि दिन नपाउँदाको पीडा
कहाँ बिसाउनु ?
विखण्डनका नारा उराल्नेलाई
रातो कार्पेटमा स्वागत गर्ने शासकहरूले
टिष्टा, नालापानी र सतलजमा
रगत बगाउने पुर्खाको
सन्तानलाई सीमापारि रोकेर
बहादुरी देखाएको छ ।
आमाको मृत्युमा
रुन नपाएर छट्पटिएको
त्यो कालीपारिको दाइ
उत्ताउलो भएछ, शासकका नजरमा
महाकाली सुसाउन छोडेको बेला
ती आँखाबाट बगेका आँसुुले
नछुने शासकहरूको भर कसरी पर्नु !
बेखर्ची छु, खल्तीमा सुको छैन
भोकलाई पटुकाले बाँधेर
चुप लगाएको छु
ओत लाग्ने छानो नभएको
भुइँमान्छे म
यो आकाश ओढेर
सुत्न मिल्ने भए
त्यसैलाई ओढेर सुतिदिन्थे
प्यास मेट्न रित्याएर त्रिशूली पिइदिन्थे
गोदामहरू खाद्यान्नले भरिएको
यो सहरमा
भोकभोकै
अनिद्रामा बसिरहन सकिनँ
र मध्यरातमा यो शहर छोडेर
आमा, म आउँदै छु ।
मजदुरहरूका नाममा
सत्तामा पुगेकाहरू
चौकीदारी गर्दागर्दै
शासक बनेकाहरू
फगत शासक मात्र बनेछन्
बिर्सिएछन् मजदुरका व्यथा
बिर्सिएछन चौकीदारका पीडा
खबरदार भित्र पस्यौ भने !
तिमीसँगै सर्ने छ, सङ्क्रमण
तिमीलाई आउन कसले भन्यो यो बेला ?
शासकले खटाएको सिपाहीले
काला पहाड नाघेर आएको
कालीपारि दाइलाई
सीमामा प्रश्न गर्यो–
थाहा छैन तिमीलाई, लकडाउन छ भनेर ?
शासकको निर्देशनमा
बोलेको सिपाहीलाई
मुखभरिको जवाफ दिने मन थियो,
उनलाई थाहा थियो लकडाउन
सीमापारिबाट आफ्नो देश देख्दा
दिल्लीबाट चौध दिन हिंडेर
सीमामा टेक्दा
कम्ती खुसी भएको थिएन उनको मन
पीडाले होइन,
खुसीले बगेको थियो उनका आँखामा आँसुु
भोक, प्यास अनि
त्यो लामो उराठलाग्दो बाटोमा
खाएको तातो हावा
तातो हावाले पोलेर
बिरूप बनाएका अनुहारहरू
पट्पटी फुटेर
रक्ताम्य भएका पैतालाहरू
देखिने र नदेखिने असङ्ख्य पीडाहरू
सबै बिर्सिएको थियो ऊ
कालीपारिबाट आफ्नो देश देख्दा ।
आमा, कालीपारि रहेको दाइ
महाकालीको झोलुङ्गे पुलको
भोटे ताल्चा खोलेपछि
पक्कै आउने छ
शासकले म हिंड्ने सडकमा
भोटे ताल्चा लगाएनन् भने
आमा, म आउँदै छु ।
हिंड्दा हिंड्दै आजित भएपछि
कम्मरमा बाँधेको नाम्लोसँगै
पटक पटक
हाम फाल्न खोजें त्रिशूलीमा
अहँ मनले मानेन
मेरै बाटो हेरेर बसेकी जहान
अनि बुढीआमा
र, बाबा भन्न बल्ल सिक्दै गरेको
छोरोको मुहार
झल्झली सम्झिएँ
र, पछि हटे यी पाइला
बाटो लामो छ
थाहा छैन कति दिनमा पुग्छु
पर्खी बस्नू छोरो आउँदै छ भनी
हो, आमा म आउँदै छु ।
सिपाही दाइलाई भनिदिनू,
काली झैं कर्णालीका ढोका नथुनिदिनू
बाटो हेरेर बसेकी छिन् मेरी बुढीआमा
बिन्ती सिपाही दाइ,
कर्णालीको ढोका नथुनिदिनू
यो निर्जन निकुञ्जको बाटो हँुदै
म पुग्दै छु, साथीहरूसँगै चिसापानी
आमा, म आउँदै छु ।
हो आमा,
मलाई माथिको निर्देशनमा बाटोमै
कसैले थुनेनछन् भने
म आउँदै छु ।
आमा, म आउँदै छु ।