धनगढी, १८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । सोडारीले (आज) शुक्रवार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री सोडारीले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना नदेखेपछि राजीनामा दिएका हुन् । गत वैशाख ६ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीको समर्थनमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी मुख्यमन्त्री बनेका थिए । नेकपा एमालेले असार २० गते समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले उत्कृष्ट नीति तथा कार्यक्रम र बजेट ल्याएको भन्दै टिप्पणी गर्ने नेकपा एमालेले नै बजेट पारित गर्न सहयोग नगरेको गुनासो गरे । उनले प्रदेशमा बजेट शून्यताको अवस्था आउनुमा प्रदेश सभाका सबै दल जिम्मेवार रहेको बताए ।
प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले सत्ता पक्ष र प्रतिपक्ष जहाँ भए पनि जनताका एजेन्डा उठाउन प्रतिबद्ध रहेको बताएका छन् । उनले प्रदेश सरकार प्रति जनताको विश्वास बढाउन प्रयास गर्ने बताएका छन् ।